दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा फैलिएको डढेलोले गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याएको छ। हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३२ जना घाइते भएका छन्। तीव्र हावा र सुख्खा मौसमका कारण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। मार्च २१ मा सान्चेओङ काउन्टीमा सुरु भएको आगो छिट्टै उइसोङ, आन्डोङ, चेङ्गसोङ, योङयाङ र योङदेओकजस्ता काउन्टीहरूमा फैलिएको छ। डढेलोले ३६ हजार हेक्टरभन्दा बढी जंगल र कृषियोग्य भूमि प्रभावित बनाएको छ। साथै, सयौं घरहरू ध्वस्त भएका छन् र ३७ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन्।

डढेलो नियन्त्रणका लागि दक्षिण कोरियाली सरकार सक्रिय भएको छ। सेना र उद्धार टोलीहरू परिचालित छन् भने करिब १२० वटा अग्निनियन्त्रक हेलिकोप्टरको प्रयोग गरिएको छ। ९,००० भन्दा बढी उद्धारकर्मीलाई आगो नियन्त्रणका लागि खटाइएको छ। कार्यवाहक राष्ट्रपति हान डक–सुले यसलाई ूराष्ट्रिय संकट भन्दै वृद्ध नागरिकहरू विशेष रूपमा जोखिममा रहेको बताएका छन्। विशेष गरी नर्सिङ होमहरूमा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

विपद् व्यवस्थापन निकायका अनुसार केही डढेलो मानवीय लापरबाहीका कारण लागेका हुनसक्छन्। परिवारका सदस्यहरूले चिहान आसपास झार हटाउन आगो लगाउनु वा वेल्डिङका क्रममा लागेको झिल्काले आगलागी भड्किन सक्ने अनुमान गरिएको छ। यो डढेलो दक्षिण कोरियाको इतिहासमै सबैभन्दा ठूलो वन डढेलो मध्ये एक भएको बताइन्छ। सन् २०२० मा भएको ठूला आगलागीमा २३,९१३ हेक्टर वन क्षेत्र जलेको थियो। डढेलोको प्रभावलाई न्यूनीकरण गर्न सरकार, उद्धार टोली, र स्थानीय बासिन्दाहरूले संयुक्त प्रयास गरिरहेका छन्। जलवायु परिवर्तन र मानवीय लापरबाहीका कारण यस्ता घटनाहरू बढ्दो क्रममा रहेकोले सतर्कता र पूर्वतयारी आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय