नेपालीहरूको महान् चाड बडादशैं नजिकिएसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा सवारीसाधन जाँच गर्न थालेको हो।
पूर्वतर्फबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिरिने विभिन्न प्रकारका सवारीसाधनलाई गैंडाकोटमा मंगलबार बिहानदेखि जाँच गरिएको छ। चाडपर्वका बेला हुनसक्ने अवैध गतिविधि नियन्त्रण गर्ने तथा यात्रुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले तालिमप्राप्त कुकुरसहित सवारीसाधनको निगरानी र जाँच गरिएको हो। दशैंका बेला यात्रुको चाप बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ।






