काठमाडौं – गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नेपाली नागरिकलाई नै ठगी गर्ने नेपालीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। विदेशमा बसेर आफ्नै देशका नागरिकलाई ठगी गर्ने र नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने जोकोहीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ। विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएईको औपचारिक भ्रमणमा रहेका गृहमन्त्री गुरुङले दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो निर्देशन दिएका हुन्।

कार्यक्रममा सहभागी नेपाली समुदायका सदस्यहरूले दुबईमा नेपालीबाटै नेपालीहरू ठगिने गरेको गुनासो गरेका थिए। विभिन्न बहानामा नेपाली नागरिकलाई आर्थिक ठगी गर्ने गतिविधि भइरहे पनि त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएको उनीहरूको भनाइ थियो। नेपाली समुदायको गुनासो सुनेपछि दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले पनि विदेशमा ठगी धन्दामा संलग्न नेपालीलाई कारबाही गर्ने विषयमा आफूहरूलाई नैतिक सङ्कट हुने गरेको बताएका थिए।

राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन प्राप्त भए त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई भोलिदेखि नै कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो। महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले ‘किन नैतिक सङ्कट रु नेपालीलाई ठगेर नेपालीकै इज्जत फाल्ने जोकोहीलाई कारबाही किन नगर्ने रु’ भन्दै प्रतिप्रश्न गरेका थिए। उनले नेपाली नागरिकलाई ठगी गर्ने जोकोहीलाई कानुनी प्रक्रियामा ल्याउन निर्देशन दिँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गर्न नहुने स्पष्ट पारेका थिए।

विदेशमा रोजगारी तथा विभिन्न अवसरको खोजीमा पुगेका नेपालीहरू आफ्नै देशका नागरिकबाट ठगिनु गम्भीर विषय भएको भन्दै समुदायका सदस्यहरूले यसअघि पनि पटकपटक गुनासो गर्दै आएका थिए। विशेषगरी आर्थिक कारोबार, रोजगारीको प्रलोभन र विभिन्न बहानामा हुने ठगीले विदेशमा रहेका नेपालीहरू समस्यामा पर्ने गरेका छन्। गृहमन्त्री गुरुङले आफ्नो यूएई भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। विश्व प्रहरी सम्मेलनमा सहभागिताका लागि यूएई पुगेका उनी औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका छन्। गृहमन्त्रीको निर्देशनपछि दुबईमा नेपालीलाई ठगी गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय