नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीको भावना र चाहना विपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा नहुने बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।
सभापति देउवाले केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिलसमेत गरेका छन् । साप्रदायिक गतिविधिले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।






