पश्चिम नवलपरासी। धार्मिक पर्यटकीय क्षेत्रको विकास र पर्यटकिय गन्तव्य जोड्न पुर्व नवलपरासीको त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरिएको छ। रथ यात्राले कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने बताइएको छ ।



कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रथ यात्राको शुभारम्भ गर्दै धार्मिक पर्यटकीय गन्तव्यहरूलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिनुभयो।साथै,छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिक स्थलहरूलाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ।
गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट सुरु भएको यो यात्रा श्रद्धालुहरूका लागि महत्वपूर्ण रहनेछ।उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण कलवार, प्रदेश सभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोख्रेल लगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको बिशेष उपस्थिति रहेको थियो ।



