तोकिएको समयमा काम नगरी अलपत्र बनेको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको अनुगमनमा आएको संघीय संसदको पूर्वाधार समितिसँग जनप्रतिनिधी र स्थानीयले आक्रोश पोखेका छन् । निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवा प्रा लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र मात्र हैन विगत ३ वर्षदेखि धुलिखेल–खावा सडक खण्डमा यात्रा जोखिमपूर्ण बनिरहेको छ ।दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अनुगमन पश्चात छलफल गर्ने क्रममा समिति समक्ष जनप्रतिनिधी र स्थानीयले आक्रोश पोखेका हुन । समितिका सदस्य शंकरप्रसाद भण्डारीको नेतृत्वमा आएको सांसदहरुको टोलीले बाटो अनुगन गरी सरोकारवालासंग छलफल समेत गरेको थियो ।
निर्माण व्यवसायीको लापार्वाहीले र सडक डिभिजनको लाचारीपनका कारण स्थानीयले सास्ती खेप्नु परेको, धुलो, हिलोको कारण बालबालिका विद्यालय जान नपाएको, पशुजन्य तथा कृषि उपजहरु विक्रि गर्न नपाएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । स्थानीयले सबै निकायबाट पटक–पटक आश्वासन मात्रै पाएको भन्दै समितिको छलफलले पनि आश्वासन नबाँड्न आग्रह गरेका थिए ।जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले गलत डिपिआर र डिजाइन स्विकृत भएका कारण निर्माणमा समस्या आएको भन्दै सडक अन्तर्गतका सम्पूर्ण निकाय दोषी रहेको बताए । ’पटक पटक बैठक र छलफल राख्दा समेत सम्बन्धित निकायले काम नगरेको कारण कस्ले काम गर्ने हो, त्यसकुरामा संसदीय समितिले आवश्यक निर्देशन दिनपर्ने बताए ।



पाँचखाल नगरप्रमुख महेश खरेलले काम नगर्ने निर्माण व्यवसायीका विरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले आँट नगरेको भन्दै विद्यमान सार्वजनिक खरिद ऐन संशोधनको लागि पहल गर्न सांसदहरुलाई अनुरोध गरे ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले जिल्ला प्रहरी कार्यालयमा रहेका मध्ये एक चौथाइ जनशक्ति धुलिखेल–खावा सडक खण्ड व्यवस्थापनमा नै खटिनुपर्ने अवस्थाका कारण समग्र शान्ती सुरक्षामा नै असर परेको बताइन् । सडक व्यवस्थापन प्रहरीको जिम्मेवारी नभएपनि लाठी बोक्नुपर्ने प्रहरी सावेल र पिक बोकेर सडकमा खट्नुपर्ने अवस्था आएको बताइन् । सडककै दुरावस्थाका कारण विद्यार्थीहरुको परिक्षा प्रभावित भएको, ढिला घर पुगेको भन्दै महिलाहरु घरेलु हिंसामा परेको, विरामीले समयमा नै उपचार नपाएको, दुध, तरकारीजन्य पदार्थ विग्रिने समस्या कृषकले भोग्नुपरेको बताईन ।
धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतम र पाँचखाल वडा नं ५ का अध्यक्ष सिताराम ढुंगानाले सडकको दुरावस्थाका कारण सबै भन्दा बढि आलोचित स्थानीय जनप्रतिनिधी हुनुपरेको बताए ।संसदीय टोलीको नेतृत्व गरेका प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले जनताप्रतिको जिम्मेवारी र कर्तव्यबोधकै कारण समिति अनुगमनको लागि आएको भन्दै सम्बन्धित मन्त्री, सचिवलाई समेत समितिमा बोलाएर छलफल गर्ने भन्दै तत्कालको लागि खाल्डाखुल्डी पुर्न, धुलो नउड्ने बनाउन र उद्धारका सामाग्री तयारी अवस्थामा राख्न निर्देशन दिए ।समितिका सदस्य ठाकूर गैरेले तोकिएको अवधीमा काम नभए ठेक्का रद्ध गर्न समितिमार्फत सरकारलाई निर्देशन दिने र त्यो कार्यान्वयन भए, नभएको पनि ताकेता गर्ने बताए ।
राजमार्ग प्रयोगकर्ता समेत रहेका समितिका सदस्य एवं सिन्धुपाल्चोकका सांसद माधव सापकोटाले गौरी–पार्वती जेभीले अन्यत्र सकारेको ठेक्का पनि समस्याग्रस्त रहेको भन्दै ठेक्का रद्ध गर्नुपर्ने धारणा राखेका थिए ।समितिका सदस्य विना लामाले विभिन्न बहाना बनाएर काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना मात्र नभइ कालोसूचीमा नै राख्नुपर्ने बताइन् ।समितिका सदस्य सुशिला श्रेष्ठले समयमा नै काम नगर्नु अख्तियारको दुरुपयोग भएको भन्दै देशभर नै यस्ता खाले समस्या देखिएको तर्क गरिन् । जवाफमा सडक विभागका महानिर्देशक रामहरी पोखरेलले ठेक्का रद्ध गर्दा कानूनी जटिलता आउन सक्ने भएर २ सय दिनको कार्ययोजना बनाएर काम गर्न लगाइएको बताए । निर्माण व्यवसायीको तर्फबाट भरत थापाले निर्माणमा भएको कमजोरी स्विकार्दै पछिल्लो सम्झौतापछि कामले गति लिएको दाबीसहित चैत्रसम्ममा ४ किलोमिटर सडक कालोपत्रे गर्ने दाबी गरे ।
सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । चार किलो मिटर सडकखण्डमध्ये दुई कि।मि। सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ३३ प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।गत चैत्र १९ गते समय सीमा भएपनि समयसीमासम्म २५ प्रतिशत मात्रै काम भएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्नको लागि काम सुरू भएको थियो ।नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ ।



