नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले बनाएको स्पष्टीकरण दिएका छन् । आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरेका हुन । अध्यक्ष ओलीले आफूले मेहनत गरेर परिवर्तन गराएको भन्दै चीनलाई सानो काममा जस दिन जरुरी नभएको बताए ।
अध्यक्ष ओलीले सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको दाबी गरे । अहिलेको परिवर्तन जोगाउन नसके संबिधान अनुसार कांग्रेसको अल्पमत बनेर देश दुर्घटनामा जाने उनको भनाइ छ । उनले सरकारको आलोचना नगर्न समेत पार्टीका सांसदहरुलाई निर्देशन दिए ।



अध्यक्ष ओलीले सरकारको आलोचना गर्नै परे पार्टीभित्रै गर्न भनेका हुन । उनले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्रीको निर्णय ठीक भएको भन्दै प्रशंषा समेत गरे । नयाँ गठबन्धन बनेपछि सरकारले केही आशा जगाएको उनको दाबी छ । अध्यक्ष ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिए । सरकारमा गएका मन्त्रीहरूलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न उनले भनेका हुन । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदहरुलाई निर्देशन समेत दिए ।



