काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन भएको छ । नागढुंगा मुग्लिन सडक आयोजना पश्चिमखण्डले सूचना जारी गर्दै समय परिवर्तन भएको जनाएको हो ।
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो ।



परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार चितवन र तनहँुतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ ।
राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । जिल्ला ट्राफिक कार्यालय चितवनले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।



