उत्तरी भारतमा मंगलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउनका लागि प्रयास भइरहेको छ । एक सयभन्दा बढी उद्धारकर्मीहरूले हिमाली राज्य उत्तराखण्डमा आइतबार बिहानैदेखि सुरुङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरुङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन् ।
उद्धार कर्मीहरु मजदुरहरूसँग सम्पर्क स्थापित गरेर अक्सिजन र खानाको आपूर्ति गर्न सफल भएका छन् । सुरुङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उत्तरकाशी जिल्लाका सरकारी अधिकारीहरुले जनाएका छन् ।



उद्दार टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकारी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ । उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दु मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरुङ निर्माण भइरहेको छ ।



