काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेको मुख्यालय कीर्तिपुर नगरपालिका २ मा बन्न लागेको विषयमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताउनु भएको छ ।
शर्माले व्यवसायी मीनबहादुर गुरुङले मुख्यालय बन्न लागेको १ अर्ब बराबरको जग्गा दान र भवन पनि गुरुङले नै बनाइदिने भएपछि आशंका व्यक्त गर्दै ओलीले जवाफ दिनुपर्ने बताउनु भएको हो । उहाँले १ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने गुरुङको घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको बताउनु भयो ।



पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वाभाविक रुपमा एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व भएको उल्लेख गर्नुभयो । शर्माले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभई राजनीतिमाथि नै प्रश्न उब्जिएको बताउनु भयो । व्यवसायीले राजनीतिक दललाई अर्बौको सहयोग गर्नुभनेको राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सीमानाबारे सोच्नैपर्ने अवस्था देखिएको बताउनु भयो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास गर्नुभएको थियो ।
एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारीसमेत लिएका छन् । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेता-कार्यकर्ताहरुले नै नेतृत्वको विरोध गरेका छन् ।



