आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल समूह चरण बाहिरिएको छ । नेदरल्यान्ड्ससँग जित्नै पर्ने शनिवारको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ । यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् ।

नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ७५ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ९० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको सानदार साझेदारी गरे । सिंहले ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रनको योगदान गरे ।

सिंह सन्दीप लामिछानेको बलमा आउट भएका थिए । तेस्रो विकेटका लागि ओ डाउनले बास डि लिडासँग ६८ बलमा ६२ रनको साझेदारी गरे । बास डि लिडाले ३९ बलमा ६ चौकाको सहयोगमा अविजित ४१ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए । त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३, सन्दीप लामिछाने र कुशल भुर्तेलले २७–२७, भीम सार्कीले २२, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४, बास डि लिड र विक्रमजित सिंहले २–२ तथा क्लेटन प्लोयट र आर्यान दत्तले १–१ विकेट लिएका थिए । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल वेस्टइन्डिजसँग १ सय १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय