नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिष्पर्धा एनएसएलको दोस्रो संस्करण आगामी शुक्रबारदेखि सुरु हुँदैछ । दोस्रो संस्करणदेखि ९ वटा फ्रेन्चाइज टोलीले चुनौति प्रस्तुत गर्ने तय भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले दोस्रो संस्करणलाई उच्च स्तरमा लैजान प्रयत्न गर्ने बताएको छ । एनएसएलको आयोजक नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले ठूलो आर्थिक चुनौतीकाबीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने जनाएको छ ।
पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको छ । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । कुल ४० वटा खेल नै दशरथ रंगशालामा हुनेछन् । पुरस्कारको राशि ७५ लाख रुपैयाँ वा त्यो भन्दा पनि बढी हुन सक्ने जनाइएको छ ।






