नेपाल–चीन व्यवसाय परिषद् अर्थात ‘नेपाल चाइना बिजनेस काउन्सिल’ स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको अवसरमा नेपाल उद्योग परिसंघ सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटी बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्न काउन्सिल स्थापना गर्ने समझदारी भएको हो ।
लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न स्थापना गरिएको नेपाल चाइना बिजनेस काउन्सिलको समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन । समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने विश्वास गरिएको छ । यस्तै व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहरीकरणमा सहजता आउने विश्वास गरिएको छ ।



काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्नेछ ।लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा सम्वादलगायतका गतिविधि गर्ने जनाइएको छ ।



