पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनामाथि दायर गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पुगेको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ।
अख्तियारको आरोपअनुसार तत्कालीन प्रधानमन्त्रीको रूपमा नेपालले पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएका थिए।
२०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल नेतृत्वले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको र त्यसअघि माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई जग्गा बिक्री र सट्टापट्टाको अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ।
कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको दाबी गर्दै अख्तियारले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



