पाकिस्तानको कार्यबाहक सरकारले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा अप्रत्याशित मूल्य वृद्धि गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर १४ रुपियाँ ९१ पैसा र डिजेलमा १८ रुपियाँ ४४ पैसा वृद्धि गरेको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर ३ सय ५ रुपियाँ ३६ पैसा र डिजेलको मूल्य ३ सय ११ रुपियाँ ८४ पैसा पुगेको छ । पाकिस्तानमा पेट्रोल तथा डिजेलको मूल्य पहिलो पटक तीन सय रुपियाँभन्दा माथि पुगेको हो ।

केही समय अघि मात्रै सरकारले विद्युत् महसुलमा भारी वृद्धि गरेको थियो । त्यसको विरोधका केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई वित्तीय संकटबाट उकास्न ३ अर्ब डलरको प्याकेज दिने सहमति गरेको छ । त्यसका लागि पेट्रोलियम पदार्थमाथि लाग्दै आएको लेभी बढाएर प्रतिलिटर ६० रुपियाँ तथा विद्युत् महसुल वृद्धि लगायतका सर्त पनि राखेको थियो । ती सर्त पुरा गर्न सरकारले मूल्य वृद्धि गरेको हो ।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा इन्धनको मूल्यबृद्धिसँगै बढ्दो महँगीले जनजीवन थप कष्टकर हुने अनुमान गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानी रुपैयाँको अवस्था निरन्तर खस्कँदै गएको छ । अहिले एक अमेरिकी डलर बराबर पाकिस्तानी रुपियाँको मूल्य ३ सय ५ रुपैयाँ ५० पैसाभन्दा माथि पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय