पाल्पा जिल्ला मा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँ ओमभन्ज्याङका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेका छन् । दुवै जनाको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको हो । जंगली च्याउ सेवनपछि जिल्लामा अन्य धेरै व्यक्ति बिरामी परेका छन्, जसमध्ये तानसेनका ८ वर्षीय बालक र रम्भाकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ । उनीहरूको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।



त्यसैगरी, माथागढी–३ कसेनीका चार जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने भालुवनका चार जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । निस्दी–४ झ्याटुङ्गका दुई जनाको भरतपुरस्थित अस्पतालमा उपचार जारी छ । स्वास्थ्य कार्यालयका अनुसार प्रि–मनसुनको समयमा उम्रिने विषालु जंगली च्याउ सेवनका कारण यस्ता घटना बढ्ने गरेका छन् । कार्यालयले स्थानीय तहहरूलाई सचेतना फैलाउन निर्देशन दिएको छ ।



