पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाल चीनको भ्रमणमा छिन्। बिहीबार उनले गान्सु प्रान्तीय पार्टी उपप्रमुख तथा गभर्नर रिन जेहे नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिन्। भेटमा नेपाल–चीन सहकार्य विशेषगरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना र बौद्धधर्म प्रवद्र्धनका विषयमा छलफल भएको छ।
भ्रमण टोलीमा रहेका एमाले नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाका अनुसार, चीनले बीआरआई कार्यान्वयनलाई सिङ्गो राष्ट्रको प्राथमिकताका रूपमा लिएको बताइएको छ। साथै, नेपालसँगको सांस्कृतिक सम्बन्धलाई गान्सु प्रान्तले विशेष महत्व दिएको जनाइएको छ।



पूर्वराष्ट्रपति भण्डारीले केही वर्षअघि राष्ट्रपति सी जिनपिङसँग भएको व्यापार घाटा कम गर्ने छलफल स्मरण गराउँदै, अबको सहकार्यमा त्यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेकी छन्। साथै, लुम्बिनी प्रवद्र्धन, चिकित्सा शिक्षा र सांस्कृतिक आदानप्रदानबारे पनि छलफल भएको छ।
पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उपराष्ट्रपति झेङ गान्सुमा सभ्यता सम्बन्धी कार्यक्रममा सहभागी हुन गएका छन्। भ्रमणका क्रममा भण्डारी नेतृत्वको टोलीले डुनहुवाङ क्षेत्रमा रहेका विभिन्न विकास परियोजनाहरूको अवलोकनसमेत गरेको छ।



