पोखरा, ३१ साउन – पोखराको विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै शनिबार दिउँसो खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।बेपत्ता हुनेमा पोखरा महानगरपालिका–१४ छिनेडाँडाका १६ वर्षीय निक्सन गुरुङ र पोखरा–१४ चाउथेमा बस्दै आएका १५ वर्षीय यमन राई रहेका छन्। उनीहरू साथीहरूसँग मिलेर विजयपुर खोला पारि गएको र फर्कने क्रममा खोलाको बहावले बगाएको बताइएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा दुवै बालक बेपत्ता भएका हुन्। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। बेपत्ता निक्सन गुरुङ स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा हुन्। यमन राई भने खोटाङ घर भई पोखरा–१४ चाउथेमा बस्दै आएका थिए।



विजयपुर खोलामा पानीको बहाव बढेको अवस्थामा खोला तर्ने क्रममा घटना भएको प्रारम्भिक विवरण छ। वर्षाका कारण खोलामा पानीको बहाव बढेकाले खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको छ। बेपत्ता बालकहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी गोताखोरसहित परिचालन भएका छन्। शनिबारदेखि सुरु भएको खोजी कार्य आइतबार पनि निरन्तर भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि परिवार तथा आफन्तजन चिन्तित बनेका छन्। सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी केन्द्रित गर्दै खोलाको बहाव र आसपासका क्षेत्रमा निगरानी बढाएका छन्। वर्षायाममा खोला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले स्थानीय प्रशासनले बालबालिका तथा सर्वसाधारणलाई जोखिमपूर्ण स्थानमा नजान र खोला तर्ने क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



