अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरी उनको घरबाट विभिन्न डिजिटल उपकरण बरामद गरेको छ। आयोगको टोली बुधबार बिहान अधिकारीको निवास पुगेपछि मोबाइल फोन, ल्यापटप तथा अन्य ‘ग्याजेट’हरू नियन्त्रणमा लिइएको आयोगका एक स्रोतले जानकारी दिएका छन्। स्रोतका अनुसार अधिकारीका गतिविधि र सम्भावित आर्थिक कारोबारबारे केही समयदेखि निगरानी भइरहेको थियो। उनीसँग रहेका केही उपकरण बुझाउन अधिकारीले सुरुवातमा हिचकिचाहट देखाएपनि अख्तियारसँग खटिएको प्रहरी टोलीले तत्काल सामग्री नियन्त्रणमा लिएको थियो। बरामद गरिएका सबै डिजिटल उपकरण आयोगको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइनेछ।



अख्तियारले बुधबार नै अधिकारीविरुद्ध मुद्दा दर्ता गरी उनलाई विशेष अदालतमा पेस गरेको थियो। अदालतले समय अभावका कारण उनीलाई आयोगकै हिरासतमा राख्न निर्देश दिएको थियो। शुक्रबारदेखि अधिकारी तथा प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको बयान विशेष अदालतमा चलिरहेको छ। नलिञ्चोक हेलिपोर्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचारका मुद्दासँगै, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण तथा अधिकारीहरूको बैंक कारोबारबारे पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ। अनुसन्धानमा अधिकारीले विभिन्न व्यक्तिलाई रकम वितरण गरेको तथा अनुसन्धान कमजोर पार्न विभिन्न समूह सक्रिय गरेको आशंका गरिएको बताइएको छ। यही कारण सम्भावित प्रमाणका रूपमा उनका डिजिटल उपकरण नियन्त्रणमा लिइएको आयोग स्रोतको भनाइ छ।



