लमजुङ –  प्रदेश अस्पताल लमजुङले पेटमा एउटा मात्रै प्वाल बनाएर एपेन्डिक्सको शल्यक्रिया गर्न सकिने आधुनिक प्रविधि भित्र्याएको छ। अस्पतालले SILS (Single-Incision Laparoscopic Surgery)प्रविधिबाट एपेन्डिक्सका दुईवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यसअघि सामान्य दूरबिन अर्थात् ल्याप्रोस्कोपिक प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटमा तीनवटा साना प्वाल बनाउनुपर्ने अवस्था थियो। तर SILS प्रविधिमा पेटमा एउटै स्थानबाट उपकरण प्रवेश गराएर शल्यक्रिया गर्न सकिन्छ। अस्पतालका चिकित्सकहरूका अनुसार एउटै प्वालबाट शल्यक्रिया हुने भएकाले शल्यक्रियापछि पेटमा देखिने दाग तुलनात्मक रूपमा कम हुन्छ। बिरामीलाई सामान्य अवस्थामा फर्किन र घाउ निको हुनसमेत सहज हुने अपेक्षा गरिएको छ।

सरकारी अस्पतालमध्ये सम्भवतः पहिलोपटक
प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार नेपालका सरकारी अस्पतालमध्ये सम्भवतः पहिलोपटक लमजुङमा क्क्ष्ीक् प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया सफलतापूर्वक गरिएको हो। सीमित स्रोतसाधनका बीच पनि आधुनिक प्रविधिको प्रयोग गर्दै जिल्लामै गुणस्तरीय शल्यक्रिया सेवा विस्तार गर्न अस्पताल सफल हुँदै गएको डा. देवकोटाले बताए।“दुर्गम क्षेत्रका नागरिकलाई पनि आधुनिक र विश्वस्तरीय स्वास्थ्य सेवा आफ्नै जिल्लामा उपलब्ध गराउने हाम्रो प्रयास हो। यो प्रविधिबाट सेवा दिन पाउँदा निकै खुसी छौँ,” उनले भने, “यसका लागि निरन्तर साथ दिने सम्पूर्ण सर्जरी तथा ओटी टोलीप्रति आभारी छौँ।”

जिल्लामै आधुनिक उपचार सेवा विस्तार
प्रदेश अस्पताल लमजुङले पछिल्ला वर्षहरूमा उपचार सेवाको दायरा क्रमशः विस्तार गर्दै आएको छ। अस्पतालमा डायलाइसिस सेवासँगै टेलिमेडिसिन, इन्डोस्कोपी, इकोलगायतका सेवा थपिएका छन्। त्यसैगरी दूरबिन प्रविधिबाट विभिन्न शल्यक्रिया गर्ने सेवा पनि सञ्चालनमा आएको अस्पतालले जनाएको छ। आधुनिक उपकरण तथा प्रविधिसँगै विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति थपिँदै गएपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको संख्या पनि बढ्दै गएको छ। अस्पतालको आधिकारिक विवरणअनुसार ओपीडी, आकस्मिक, अन्तरंग, मातृशिशु स्वास्थ्य, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य बीमा र हेमोडायलाइसिसलगायतका सेवा सञ्चालनमा छन्।

काठमाडौं र पोखरा धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा
लमजुङजस्तो पहाडी जिल्लाका नागरिकलाई सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत काठमाडौं वा पोखरा पुग्नुपर्ने बाध्यता रहँदै आएको छ। विशेषगरी शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाले बिरामी तथा परिवारलाई आर्थिक र मानसिक दुवै किसिमको भार थप्ने गरेको छ। यस्तो अवस्थामा जिल्लामै आधुनिक शल्यक्रिया सेवा विस्तार हुनुले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। SILS प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया सुरु हुनु पनि जिल्लामै उपलब्ध विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवाको दायरा फराकिलो हुँदै गएको संकेतका रूपमा अस्पतालले लिएको छ। अस्पतालमा नयाँ प्रविधि र सेवा थपिँदै गएपछि लमजुङसँगै छिमेकी जिल्लाका नागरिकसमेत उपचारका लागि यहाँ आउने क्रम बढेको बताइएको छ।

दैनिक चार सयभन्दा बढी सेवाग्राही
सेवा विस्तारसँगै प्रदेश अस्पताल लमजुङमा उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पछिल्लो समय दैनिक करिब चार सयदेखि पाँच सयसम्म सेवाग्राही उपचारका लागि आउने गरेका छन्। ओपीडीदेखि आकस्मिक सेवा, प्रयोगशाला, रेडियोलोजी, इन्डोस्कोपी, इको, डायलाइसिस तथा शल्यक्रियासम्मका सेवा जिल्लामै उपलब्ध हुन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको अस्पतालको भनाइ छ। आधुनिक प्रविधि र विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिन सके लमजुङका साथै आसपासका जिल्लाका नागरिकलाई समेत सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण केन्द्रका रूपमा प्रदेश अस्पताल अझ विकसित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय