काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको बताउनुभएको छ।महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई केवल मानवीय विपत्तिका रूपमा बुझ्न नहुने धारणा राख्नुभयो। उहाँले नेपालका लागि जलवायु महाविपत्ति विकासमै चुनौती थप्ने ‘विकासको आपत्काल’ बनेको बताउनुभयो।



प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गर्नुभयो। हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलता विकासका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
‘नेपालले आफ्नो क्षमताभन्दा बढी वातावरणीय योगदान गरिरहेको छ’
महासभामा प्रधानमन्त्री शाहले नेपालको वातावरणीय प्रयासबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो। अति कम विकसित देश भए पनि नेपालले आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको उहाँले दाबी गर्नुभयो। नेपालको करिब आधा भूभाग वनजंगलले ढाकिएको उल्लेख गर्दै उहाँले वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
विदेशबाट आयात हुने प्रदूषणकारी ऊर्जाको विकल्पका रूपमा नेपालले जलविद्युत् उत्पादनलाई तीव्रता दिएको र विद्युतीय सवारीसाधनको प्रयोग तथा प्रवर्द्धनमा पनि उल्लेखनीय प्रगति भइरहेको उहाँले बताउनुभयो।प्रधानमन्त्री शाहले नेपालजस्ता जलवायु परिवर्तनको असर बढी भोगिरहेका मुलुकका लागि जलवायु न्यायको प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। जलवायु न्याय केवल आर्थिक सहयोग वा पैसाको विषय नभई स्रोत र अवसरको न्यायोचित वितरणसँग जोडिएको विषय भएको उहाँको भनाइ थियो।
हतियार आपूर्ति सहज, किसानलाई मल र इन्धन किन कठिन ?
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि पनि प्रश्न उठाउनुभयो। उहाँले हतियार आपूर्तिका लागि विश्वसँग तीव्र र प्रभावकारी संयन्त्र रहे पनि किसानका लागि आवश्यक मल तथा इन्धन आपूर्तिमा त्यस्तो प्रभावकारिता नदेखिएको बताउनुभयो। अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै स्थानमा पुर्याउन सकिने तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा समेत मल र इन्धन प्राप्त गर्न नसक्ने अवस्थाप्रति उहाँले प्रश्न उठाउनुभएको हो। प्रधानमन्त्री शाहले विश्वव्यापी स्रोत र आपूर्ति प्रणालीलाई मानव जीवन तथा खाद्य सुरक्षाको आवश्यकतासँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो।
पशुपतिनाथ र बुद्धको सन्देश स्मरण
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको धार्मिक तथा बौद्ध दर्शनसँग जोडिएका शान्ति र कल्याणका सन्देशलाई स्मरण गर्नुभयो। उहाँले भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धले देखाएको बाटोमा अघि बढ्न सकोस् भन्दै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्नुभएको थियो।
गुटेरेससँग द्विपक्षीय भेटवार्ता
महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच द्विपक्षीय भेटवार्ता भएको जनाइएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको कार्यालयको भनाइ छ। भेटवार्तामा नेपालका जलवायुजन्य जोखिम, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असर, जलवायु न्याय र हिमालय क्षेत्रमा बढ्दो जोखिमलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको छ। पछिल्लो सम्बोधनमा पनि नेपालको न्यून उत्सर्जन र जलवायु परिवर्तनबाट भोगिरहेको उच्च जोखिमबिचको असमानतालाई विश्व समुदायसामु प्रस्तुत गरिएको छ।



