प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी उक्त पत्र प्राप्त भएको पुष्टि गरेका छन्। यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा कालो चस्मा लगाउने विषयमा प्रश्न उठेपछि प्रमुख सचेतक र सचेतकमैर्फत सांसदहरूलाई स्वास्थ्य परीक्षणको रिपोर्टबिना कालो चस्मा नलगाउन आग्रह गरेका थिए। स्वास्थ्य कारणले चस्मा लगाउनुपर्ने भए त्यसको प्रमाण पेस गर्नुपर्ने सभामुखको भनाइ थियो।
त्यसपछि प्रधानमन्त्री शाहको आँखा परीक्षणसम्बन्धी रिपोर्ट संसद् सचिवालयमा पठाइएको हो। शाहले गत २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए। परीक्षणपछि उज्यालो प्रकाशमा खाली आँखाले हेर्दा समस्या हुने देखिएको भन्दै अस्पतालले कालो चस्मा प्रयोग गर्नुपर्ने सुझाव दिएको बताइएको छ। उक्त स्वास्थ्य रिपोर्टसहितको पत्र २६ साउनमा संसद् सचिवालयमा पठाइएको हो।



प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने तयारी छ। प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बुधबारका लागि प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई प्रश्नको विषय लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार सभामुख अर्यालले सांसदहरूलाई प्रश्न दर्ताका लागि समय दिएका थिए। त्यसक्रममा ११ जना सांसदले प्रश्न दर्ता गरेका छन्। प्रधानमन्त्री संसद् बैठकमा सहभागी हुने पूर्वसन्ध्यामा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी रिपोर्टसमेत संसद् सचिवालय पुगेको हो। अब प्रधानमन्त्री शाह बुधबारको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा स्वास्थ्य रिपोर्टअनुसार कालो चस्मा लगाएर सहभागी हुनेछन्।



