फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र उनकी पत्नी ब्रिजिट म्याँक्रोनबीचको एक संक्षिप्त पारिवारिक क्षणले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। गत आइतवार साँझ भियतनामको नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानको ढोकामा देखिएको त्यो क्षण केही मिडियाहरूमा ‘झापड’ भनेर प्रस्तुत गरिए पनि, आधिकारिक रिपोर्टअनुसार त्यो हल्का पारिवारिक प्रतिक्रिया मात्र भएको पुष्टि गरिएको छ।
के भयो त त्यो क्षणमा ?



CBS News को समाचार अनुसार, एसोसिएटेड प्रेस (AP) ले खिचेको भिडियोमा राष्ट्रपति म्याँक्रोन विमानबाट ओर्लिँदै गर्दा ढोकाबाट प्रकट हुन्छन्। त्यसैबेला, बायाँपट्टि देखिने हातहरू — जसलाई उनकी पत्नी ब्रिजिटको भनिएको छ — अचानक राष्ट्रपति म्याँक्रोनको अनुहारमा पुग्छन्। दुबै हातले अनुहार समातेर टोलाउने शैलीमा हल्का धक्का दिइन्छ।
घटनाले केहीबेर राष्ट्रपति म्याँक्रोनलाई अचम्मित बनाएको देखिए पनि, उनले तुरुन्तै आफूलाई सम्हालेर जनसमक्ष हात हल्लाउँछन्। श्रीमती ब्रिजिट भने विमानको भित्री भागमै रहेकीले उनको अनुहार वा हाउभाउ स्पष्ट देखिन्न।
राष्ट्रपतिको कार्यालयको स्पष्टीकरण
सोमबार फ्रान्स राष्ट्रपतिको कार्यालयले यसबारे प्रतिक्रिया दिँदै, यो क्षणलाई “moment of togetherness” भनेर चित्रण गर्यो। कार्यालयका अनुसार, यो कुनै पारिवारिक झगडा, रिस, वा हिंसात्मक व्यवहार होइन। यो सामान्य व्यक्तिगत क्षण थियो, जसलाई मिडिया वा सामाजिक सञ्जालले बढाई चढाई प्रस्तुत गरिरहेको छ।
सामाजिक सञ्जालमा हल्ला र अतिशयोक्ति
फेसबुक, युट्युब, र अन्य सामाजिक सञ्जालमा भने यस घटनालाई “श्रीमतीले राष्ट्रपतिलाई झापड हानेकी” भनेर भाइरल बनाइएको छ। कतिपय व्यक्तिहरूले भिडियोको केही सेकेन्डलाई काटेर आफूअनुकूल व्याख्या गरेर अपलोड गरेका छन्। यद्यपि, न त यो झापड थियो, न कुनै सार्वजनिक बेइज्जती, यो घटनाले भ्रम सिर्जना गर्ने शैलीमा भाइरल सामग्रीको समस्या पनि उजागर गरेको छ।



