काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भएको बीपी राजमार्गको विभिन्न खण्ड स्थायीरूपमा पुनर्निर्माण हुने भएको छ । गत असोज महिनाको दोस्रो सातामा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएको राजमार्ग पाँच महिनापछि पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे ८ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरेको छ । क्षतिग्रस्त सडकको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गर्ने तयारी गरिएको छ ।

क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेण्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । यसका लागि ७२ करोडमा ठेक्का आह्वान भएको छ । यसमा सहभागी हुने कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण राख्नुपर्ने छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेण्डर आह्वान गरिएको छ । ८ किलोमिटर सडक (डालाबेसीदेखि–चारसयबेसीसम्म) पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने छ ।
क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको छ ।

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय