नेकपा एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समयलिएर बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए। उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका छन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ।’
उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि समेत पोखे। ‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’



उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयमता गुमाउँदै गएको पनी आरोप लगाएका छन्। ‘काठमाडौं महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ। बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोेलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने। उनले एमालेको पालामा काठमाडौंमा नयाँ सहरहरू बसाएको चर्चा गरे। त्यस्तै धोबी खोला, बागमती करिडोरको योजना सारेको बताए।
न्यूरोडमा फुटपाथ विस्तार गर्ने योजना सडक विभागले रोकेपपिछ मेयर बालेनले एमालेमाथि आक्रोश पोख्दै आएका छन्। सोमबार काठमाडौं महानगरले काटेको न्यूरोड सडक विभागले टालेपछि मेयर बालेनले गिरीबन्धु जग्गा सट्टपट्टा प्रकरण ढाकछोप गर्न विषयान्तर गरेको बताएका थिए।



