नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा दुई वटा ट्रक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको डीडी १ एल ९१६१ नम्बरको भारतीय ट्रक एकआपसमा ठोक्किएको थियो । नेपाली कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



सोही ट्रकको सह–चालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



