काठमाडौं । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्यायो ।

यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहेको छ । त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई अहिलेको अवस्थामा पुर्याउनुमा उहाँले रात दिन नभनी खेलेको भूमिका भरतपुरवासीले कहिल्यै भुल्ने छैनन् ।

फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उहाँलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन् । वर्षातको समयमा रातमा निदाउँन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ ।

उहाँले आफू पहिलोपटक भरतपुरको चुनावी प्रचारमा जाँदा विद्यालय भवनहरू जीर्ण, स्वास्थ्य सेवा भरतपुरको कोर क्षेत्रमा सीमित, किसानहरू दूध बिक्री नभएर सडकमा पोख्नु पर्ने अवस्था, आर्सेनिक मिसिएको पानी खानुपर्ने विवशता, विद्यालय जाने उमेर समूहका कतिपय बाबुनानीहरू विद्यालय नजाने अवस्था देख्दा आफूलाई यी सबैको समाधान त्यति बेलादेखि नै सपना देख्ने गरेको बताउनुभयो ।

महानगरपालिकामा बितेका नौ वर्षमा एक हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । सडक र सहर नै फोहर र कुरूप पार्ने बिजुलीका तारहरूलाई जमिनमुनी गाडेको भन्दै उहाँले मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत् तारलाई भूमिगत बनाएको बताउनुभयो । स्मार्ट सडक बत्ती, हाई तथा मिनी मास्ट जडान गरेको, २०६ किमीमा सडक बत्ती, महानगरका विभिन्न सडक चोकमा ९१ वटा हाइमास्ट तथा मिनिमाष्ट जोडेर भरतपुरलाई उज्यालो सहर बनेको छ ।

भरतपुर महानगरपालिकालाई डिजिटल प्रणालीमा प्रविष्ट गर्न डिजिटल हाउसहोल्ड नम्बरिङ्गको काम शुरु भएको छ भने अत्याधुनिक प्रविधि जडित ४१८ वटा सिसिटिभी क्यामेरा महानगरका मुख्य तथा संवेदनशील क्षेत्रमा जोड्ने काम भइरहेको छ । यसले अपराध नियन्त्रण र सवारी दुर्घटना रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । सडक पूर्वाधारमा अर्को ऐतिहासिक काम नेपालकै सबैभन्दा लामो ८८ दशमलज छ किमी चक्रपथ (रिङरोड) निर्माण सङ्घीय सरकारको सहयोगमा गरिएको छ ।

महानगरपालिकाको पहलमा सङ्घीय सरकारबाट अर्बौको लागतमा नारायणी नदीमा तटबन्ध गरेर समस्याको दीर्घकालिन समाधान गरिएको छ । तटबन्ध गरिएको ठाउँहरू भोलिका दिनमा पर्यटकीय केन्द्र बन्न सक्ने आधार तयार भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका महानगरका विभिन्न वडाहरूमा जङ्गली जनावरको डर उत्तिकै थियो । घर बाहिर निस्कँदा ती जनावरको आक्रमणबाट ज्यान जाने खतरा त थियो नै, लगाएको खेतीबाली पनि खाइदिने समस्या पनि उस्तै थियो । छब्बीस किलोमिटर लामो मेसजाली निर्माण गरेर जनतालाई सुरक्षित राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

भरतपुरका नहर नपुगेको ठाउँमा १२ महिना नै सिँचाइ पुग्ने गरी भूमिगत सिँचाइको व्यवस्था गरिएको छ । नारायणी लिफ्ट हिउँदमा समेत चल्ने भएपछि यहाँका किसानहरू त खुसी भएकै छन्, सबैतिर हरियाली पनि छाएको छ । बोरिङ तथा स्यालो ट्युबवेलबाट भरतपुरमा झण्डै आठ हजार विगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ । भूमिगत पानी निकाल्नका लागि १ सय २० वटा स्यालो बोरिङ तथा ८ सय वटा ट्युबवेल निर्माण गरिएको छ । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा रु दुई करोड बराबरका किसानलाई कृषि उपकरण वितरण गरेको छ ।

महानगरका दूध उत्पादक किसानले प्रतिलिटर दूधमा रु चार अनुदान पाएका छन् । झण्डै रु २२ करोड दूधमा अनुदान बाँडेको महानगर किसानहरूको विश्वासिलो अभिभावक बनेको छ । दूधमा नगद अनुदानको नीतिले प्रतिवर्ष औषत पाँच लाख लिटरको दरले दूध उत्पादन बढेको उहाँको दाबी छ । युवालाई सीप सिकाएर देशभित्र नै स्वरोजगार र स्वावलम्बी बनाउने प्रयासअन्तर्गत महानगरले शैलुन, केयर गिभर, ब्यूटिसियन, कुक, वेटर, हाउस किपिङ, फेसन डिजाइनर, प्लम्बिङ, इलेक्ट्रिसियन तालिमहरू महानगरले चलाएको छ । यहाँको पर्यटन क्षेत्रलाई राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा चिनाउन तथा आर्थिक गतिविधिलाई उकास्न सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाएर पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ । भवनले मात्रै भरतपुरको हवाई उडान समस्या समाधान नहुने भएपछि महानगरपालिकाको पहलमा विमानस्थलको रनबे विस्तार गर्ने कामको सहजीकरण गरिएको छ ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । नारायणी नदीमाथि आर्कषक सिग्नेचर पुल निर्माणको कामलाई अगाडि बढाउन महानगरपालिकाले गरेको प्रयत्न निकै लामो छ । यो आर्कषक र अत्याधुनिक पुल नारायणगढको पुल्चोक–टिकौलीसम्म बनेको आर्कषक छ लेनको सडकमा जोडिँदा भरतपुरको सान र स्वरूप फेरिएको छ ।

छ लेनको सडक भरतपुरको विकासको एक मानकका रूपमा स्थापित बनेको छ । हरियाली र फूलहरूसहित आर्कषक बनेको यो सडक रातको समयमा झिलिमिली देखिन्छ । भरतपुर वाइपास सडकले पनि भरतपुरको गौरव बढाएको छ । यी दुवै सडकको सौन्दर्यकरण तथा वृक्षरोपणको काम महानगरपालिकाले गरिरहेको छ । भरतपुर महानगरपालिकाले बितेको नौ वर्षमा आफूलाई सुशासन र आर्थिक पारदर्शीता कायम राख्ने काम गरेको छ । न्यून बेरुजु र शून्य बेरुजु बनाउने तथा कार्यसम्पादनमा देशभरीका महानगरपालिकाका मध्ये भरतपुर उत्कृष्ट बन्न सफल भयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार तथा सम्मान भरतपुरले प्राप्त गर्न सफल भएको छ । महानगरको आन्तरिक आम्दानीलाई क्रमशः बढाउँदै लग्यौँ र अहिले महानगरको आन्तरिक आम्दानी करिब एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै यो अवधिमा झण्डै १ सय सानाठूला विद्यालय भवन बनेका छन् । कतिपय विद्यालयलाई बसहरू प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप भएका छन् ।

भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई बहिरङ्ग टिकट निःशुल्क गर्ने जस्ता कामहरू मात्रै गरिएका छैनन्, महानगरका २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना भई एक वडा, एक स्वास्थ्य संस्थाको लक्ष्य प्राप्ति भइसकेको छ । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूको बाल उमङ्ग जीवन बिमा कार्यक्रम चलिरहेको छ । प्रसूति गराउने महिलाहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था महानगरले गरेको छ ।

फोहरले भरिएका र अतिक्रमणको चपेटामा परेका पुङ्गी खोला र केरूङ्गा खोला शौन्दर्यकरणले चिटिक्क परेका छन् । भरतपुरको मध्यभाग भएर बग्ने ६.६५ किमी लामो पुङ्गी र ३६ किमीको केरुङ्गा खोलाको सौन्दर्यकरणको काम भइरहेको छ । भरतपुरका विभिन्न ठाउँमा ठूलाठूला खानेपानीका ओभरहेड ट्याङ्कीहरू निर्माण गरिएका छन् । शुद्ध पिउने पानीको पहुँच भरतपुरका ९८ प्रतिशत जनताको बीचमा पुगेको छ । ठूला सभा सम्मेलन गर्नका लागि सभागृह बनिरहेको छ ।

वातावरण प्रदूषण कम गराउन देवघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी पुलबाट उत्तरतर्फ नदी किनारलाई सी–बीच मोडलको रूपमा विकास गर्न महानगरपालिकाले ६४० मिटर लामो तटबन्ध तयार गरी एक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ । महानगरका २९ वडामध्ये १७ वटा वडाका नयाँ भवन बनेका छन् भने थप बन्ने क्रममा रहेको छ । – रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय