शुक्रबार रातिको भूकम्पबाट सातवटा जिल्लाका ३ हजार ७ सय ७० घरमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती मध्ये २ हजार ८ सय ३८ घरमा आंशिक क्षति भएको छ भने ९ सय ३२ घर पूर्ण क्षति भएका छन । सबैभन्दा बढी जाजरकोटमा २ हजार ६ सय ८५ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा मात्रै ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन ।
यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ । यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ । दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ । यसैगरी, बैतडीमा एउटा घर भत्किएको छ । प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ ।



भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ । भुकम्पवाट १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ५६ जना घाइते छन । मृतक सबैभन्दा धेरै जाजरकोटका १ सय ५ जना रहेका छन् । त्यहाँ १ सय १२ जना घाइेत छन् । त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १ सय ३२ जना घाइते भएका छन । यता, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन ।



