काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंकी प्रा.संगीता सिंह,जुम्लाका डा. कुशरेन्द्र बहादुर महत,ललितपुरका डा.अरनिको पाण्डे र पाल्पाका प्रा.शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।



यसैगरी बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गरेको छ । मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो ।मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएकाले नै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।



