सीताराम विवाहपञ्चमी आईतवार विभिन्न कार्यक्रमको आयोजना गरि हर्षोल्लासपूर्वक मनाएको छ । त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । सोही अनुरुप सर्लाहीको सदरमुकाम मलंगवामा पनि आईतवार डोला यात्रा निकालिएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला डोला यात्रामा सहभागिता जनाउदै सहभागि सबैजनालाई बधाई तथा शुभकामना दिए ।
यस अवसरमा प्रदेश सांसद कौशल किशोर यादव, पुर्व संघिय सांसद प्रमोद साह, पुर्व प्रदेश सभासदस्य अशोक यादव, पुर्व जिसस प्रमुख कौशल सिंह, पुर्व मेथुर चौधरी, मलंगवा नगरपालिकाका पुर्व मेयर निरसल साह लगायत मलंगवा नगरपालिकाका वाडा अध्यक्षहरु क्रमश मुकेश जैसवाल, चन्देश्वर राय, प्रमोद राय, नेपाली कांग्रेसका नेता चन्दकिशोर साह, रमेश अधिकारी साथै बजरंग दलका सहमहामन्त्री सोनु सिंह, मनोज राउत, चेम्बरअफ कमर्शका रविन्द्र साह, संतोष दास लगायत युवा व्यापारी सुभाष गुप्ता सहित सैकडो युवाहरुको डोला यात्रामा सहभागिता रहेको थियो ।



मुस्लिम समुदायबाट राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. अब्दुल रहिम मिकारानी, वडा नं. ७ का वडाअध्यक्ष मो. इशा मिकरानी लगायत मुस्लिम समुदायका अगुवाहरुको पनि डोला यात्रामा सहभागिता रहेको थियो । मलंगवा नगरपालिका वडा न–८ स्थित श्रीराम मन्दिरको आयोजनामा प्रत्येक वर्षझै यसवर्ष पनि रामजानकीको डोला सहितको रथ यात्रा निकालिएको थियो । बिहान ११ बजे राम मन्दिरबाट निकालिएको रथयात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः राम मन्दिरमा गएर टुंगिएको थियो । यात्रामा जिल्ला भरका मठमन्दिरका साधुसंत, स्थानीय महिला–पुरुष ,ब्यापारी ,कर्मचारी, विद्यार्थी, पत्रकार लगायत हजारौं श्रद्धालुहरुको सहभागीता रहेको थियो । हिन्दु मुस्लिम दुबै समुदायका अगुवाहरुको वृहत सहभागितामा निकालिएको भगवान श्रीरामको डोला यात्राबाट मलंगवाको सामाजिक सदभाव मजबुत हुने स्थानीयहरुको भनाई छ । सबैजना मिलेर कुनैपनि पर्व त्यौहार मनाउदा आपसी भाईचारा प्रगाढ र दरो हुने नागरिक अगुवाहरुको भनाई छ ।
हिंन्दु, मुस्लिम दुबै समुदायको डोला यात्रामा सहभागिताबाट नेपाल भरिमा सकारात्मक संदेश प्रवाह भएको वडा नं. ८ का वडाअध्यक्ष मुकेश जैसवालले बताए । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी डोला यात्रा गरिन्छ, त्यस्तै जानकी मन्दिरबाट माता सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी नगरपरिक्रमा गरिन्छ ।



