क्वालालम्पुर – मलेसियाको सेलाङ्गोर राज्यस्थित हुलु सेलाङ्गोर क्षेत्रमा आएको आकस्मिक बाढीमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। सुंगाई पेरटाक नदी क्षेत्रमा सोमबार साँझ आएको बाढीमा परी एक नेपालीसहित आठ जना बगेका थिए। तीमध्ये मंगलबार साँझसम्म पाँच जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्। मलेसियाको राष्ट्रिय समाचार संस्था बर्नामा ९द्यभ्च्ल्ब्ःब्० ले मंगलबार प्रकाशित गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये एक जना नेपाली नागरिक ४९ वर्षीय कपाली रहेका छन्। त्यस्तै, मलेसियाली नागरिक भी। विजयन र भारतीय नागरिक बी। कुञ्जुमनैयिलको पनि पहिचान खुलेको छ। अन्य दुई मृतकको पहिचान तथा राष्ट्रियता भने पुष्टि हुन बाँकी रहेको छ।
घटना सोमबार साँझ करिब ५:३० बजे सेलाङ्गोर राज्यको कुआला कुबु भारु नजिकै पर्ने सुंगाई पेरटाक क्षेत्रको लाता जेबुस, कम्पुङ पेरटाकमा भएको हो। नदीमा रहेका पर्यटक तथा विभिन्न समूहका व्यक्तिहरू अचानक पानीको बहाव बढेपछि बाढीमा परेका थिए। मलेसियाको राष्ट्रिय समाचार संस्था बर्नामाका अनुसार बाढीमा बगेका ३६ वर्षीय मलेसियाली नागरिक भी। विजयनको शव मंगलबार बिहान करिब १:३० बजे घटनास्थलबाट २.७ किलोमिटर तल पेरटाक पुलनजिक फेला परेको थियो। त्यसपछि बिहान थप चार जनाको शव सेनगेट पुल र झोलुङ्गे पुल आसपास फेला परेको थियो।



मलेसियाको अग्नि तथा उद्धार विभागका अधिकारी अश्रुल रिजाल असबारका अनुसार बेपत्ता तीन जनाको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। खोजी कार्यलाई विस्तार गर्दै लाता जेबुसदेखि सुंगाई सेलाङ्गोर बाँधसम्म करिब तीन किलोमिटर क्षेत्रमा केन्द्रित गरिएको छ। घटनाका क्रममा नदी आसपासका विभिन्न स्थानमा फसेका १९ जनालाई भने उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको थियो। उद्धार तथा खोजी कार्यमा अग्नि तथा उद्धार विभागसँगै प्रहरी, नागरिक सुरक्षा बल र अन्य सम्बन्धित निकायका टोली परिचालित छन्। यस घटनाले मलेसियामा रहेका नेपाली समुदायलाई समेत स्तब्ध बनाएको छ। मृतक नेपाली नागरिक कपालीको स्थायी ठेगाना, परिवार तथा अन्य व्यक्तिगत विवरणबारे थप जानकारी आउन बाँकी छ।



