काठमाडौं । मलेसिया रोजगारीसम्बन्धी विवाद चर्किरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जना म्यानपावर तथा स्वास्थ्य व्यवसायीलाई पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार उनीहरूलाई बिहीबार बिहान पक्राउ गरिएको हो। पक्राउको कारण र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताएका छन्। एक म्यानपावर व्यवसायीका अनुसार पक्राउ पर्नेमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित पाँच जना छन्। उनीहरूले नेपाल–मलेसिया श्रम सम्झौताअन्तर्गत नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आएका थिए।
मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनी मात्रै छनोट गरेपछि नेपालमा विवाद चर्किएको हो। मलेसियाले २५ वटा मुख्य एजेन्सी र तिनका मातहत २५० वटा सहायक एजेन्सीमार्फत मात्रै नेपाली श्रमिक लैजाने व्यवस्था अघि सारेको छ। यस निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहितका व्यवसायीले विरोध गर्दै आएका छन्। उनीहरूले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान रूपमा श्रमिक पठाउने अवसर दिनुपर्ने माग गरेका छन्। छनोटको मापदण्डबारे नेपाल सरकारलाई समेत स्पष्ट जानकारी नभएको व्यवसायीहरूको भनाइ छ।



यसअघि मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको विवरणसमेत सार्वजनिक भएको थियो। विवाद समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन संवाद गर्दै रोजगारी क्षेत्रमा रहेको भनिएको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्न आग्रह गरेका थिए। श्रममन्त्री रामजी यादवले पनि मलेसियाका मानव संशाधनमन्त्रीसँग छलफल गरेका थिए। तर, कूटनीतिक तथा सरकारी तहमा छलफल भइरहे पनि मलेसियाको नयाँ श्रमिक भर्ना प्रक्रियालाई लिएर विवाद जारी छ। पक्राउ परेका व्यवसायीमाथि के आरोप छ भन्ने विषयमा भने प्रहरीको विस्तृत विवरण आउन बाँकी छ।



