काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि ढल निकासको काम सुरु गरेको छ। बुधबार नेपाली सेनाको मुख्यालयको पूर्वी गेट नजिकै सेनाको कम्पाउन्डभित्र डोजर प्रयोग गरी ढलको पाइप खोतल्न थालिएको हो।
केही दिनयता वर्षाका कारण माइतीघर क्षेत्र डुबानमा पर्दै आएको थियो। गत साता भएको डुबानपछि महानगरपालिकाले प्राविधिक अध्ययन टोली गठन गरेको थियो। टोलीको अध्ययनपछि ढल निकास सुधारका लागि पाइप खोतल्ने काम अघि बढाइएको महानगरले जनाएको छ।






