काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बैशाख कृष्णपक्ष औँसीका दिन मातातीर्थ मन्दिरको कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको र मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको बताउनु भयो । आज साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै मातातीर्थमा मेला लाग्ने अध्यक्ष उदासले बताउनु भयो ।

धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वको मातातीर्थ कुण्डमा पुगेर श्राद्ध गर्नेको संख्या पनि बढ्दै गएको छ । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा ठूलो मेला लाग्दै आएको छ । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ । आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको संख्या बृद्धि हुँदै गएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संजय सिग्देलले मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८ सय मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको कामलाई अगाडि बढाएको जानकारी गराउनु भयो ।

यो वर्ष ५ लाख बढी व्यक्तिले मेला भर्न आउने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय