काठमाडौं — भोटेकोशीमा बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली–थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ। लामो समयदेखि सुरुङभित्र फसेका उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान बाहिर निकालेको हो। उद्धार गरिनेमा सप्तरीका सञ्जय साह र काठमाडौंका कविर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने महर्जन नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट माथिल्लो त्रिशूली–थ्री ए पुगेका थिए।

आयोजनास्थलमै रहेका रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार दुवै जनालाई पहुँच सुरुङको बीच भागतिर भेटिएको थियो। उद्धारमा संलग्न सुरक्षाकर्मीका अनुसार उनीहरू सुरुङबाट बाहिर निस्कने क्रममा बीचमै अड्किएका थिए। उद्धारपछि साहको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। महर्जनलाई भने स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याएर छाउनी अस्पतालमा भर्ना गरिएको छ।

भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा ठूलो चुनौती देखिएको थियो। सुरुङभित्र मानिसहरू फसेको जानकारी पाएपछि सुरक्षा निकायले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो। प्रतिकूल अवस्था र सुरुङभित्रको कठिन भूगोलका कारण उद्धार कार्य सहज हुन सकेको थिएन।

यसअघि सांसद न्यौपानेले उद्धारका क्रममा नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको जानकारी दिनुभएको थियो। त्यसपछि उद्धार टोलीले सम्भावित स्थानमा केन्द्रित भएर खोजीलाई थप तीव्र बनाएको थियो। लामो समयसम्म सुरुङभित्र रहेका उनीहरूलाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धारमा संलग्न सुरक्षाकर्मी तथा आयोजनाका कर्मचारीमा राहतको महसुस भएको छ।

अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका हुन सक्ने अन्य व्यक्तिको खोजी तथा उद्धारमा सक्रिय छ। सुरुङभित्रको अवस्थाबारे थप जानकारी संकलन गर्दै सम्भावित स्थानमा खोजी जारी राखिएको सुरक्षा स्रोतले जनाएको छ। दुई जनाको उद्धारसँगै लामो समयदेखि सञ्चालनमा रहेको खोज तथा उद्धार अभियानले महत्वपूर्ण सफलता हासिल गरेको छ। यद्यपि सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने आशंकाका कारण उद्धार टोलीले अभियानलाई निरन्तरता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय