मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा मुगु पुगेको छ । मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
यस घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले बताएकाछ । घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।






