अविरल वर्षासँगै आएको पहिरोले देशभरका विभिन्न राजमार्गहरु अबरुद्ध भएका छन् ।
पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।



सडक खुलाउने प्रयास भइरहे पनि पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । कालिमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ ठाटीपौवामा एक तले कच्ची घर पहिरोले पुरिँदा ४५ वर्षीया रुपा टमाटा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ । लगातारको वर्षाले जिल्लाका मुख्य तथा सहायक अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, यतिबेला गुल्मीको रिडी तम्घास, रिडी रुद्रवेणी खैरेनी इन्द्रेगौैंडा र तम्घास छल्दी सिमलटारी सडकखण्ड पहिरो र खोलाको बहाव बढेका कारण अवरुद्ध छन् ।

अविरल वर्षासँगै आएको बाढी पहिरोले दोलखामा एक जना बेपत्ता भएका छन । गौरीशंकर गाउँपालिका ९ मा रोल्वालिङ खोलामा आएको बाढीले च्छोरोल्पा पदमार्गमा व्यवसाय गर्दै आएका जाङ्मु शेर्पा बेपत्ता हुनुभएको हो । पहिरोले साना ठुला गरेर ७ वटा घर पूर्णक्षति पुगेको छ भने जनप्रतिनिधि र प्रहरी खोजी तथा उद्दार कार्यमा लागेको कार्कीले बताउनु भयो ।
उता दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी, बडीगाड, पाल्पाको कुमालगाउँ, गैडाकोट, बल्ड्याङगढी, जाल्पा, अर्चले, दाङको घोराई, सुखाबरे, रातामाटा, गंगढी, लमही, बागसोती पर्वतको कार्कीनेटा, नवलपुरको डण्डा, देउराली नवल, अर्घाखाँचीको सन्धीखर्क, स्याङ्झाको पञ्चमुल, मलुङ्गा, लमजुङको कुन्छा, राइनासटार, ललितपरको लेले, पर्साको मुडुली पर्सा, अर्घाखाँचीमा भीषण वर्षा भइरहेको छ । यीबाहेक दाङ, पाल्पा, बाँके, स्याङ्जाका विभिन्न स्थानमा भारी वर्षा भएको भन्दै जल तथा मौसम विभागले सतर्कता जारी गरेको छ ।
ठुला नदीहरू तर्फ नारायणी र बागमतीमा बाढीको जल सतह बढेको छ । लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । यता देवघाटमा नारायणी नदीले झन्डै ८ मिटर जल सतह बढेको छ । यस्तै कोशी प्रदेशमा संखुवासभाको किमाथांकामा अरुण नदीको जल सतह घट्दो क्रममा रहेको छ । बारामा गढीमाईमा दुधौरा खोलामा बाढीको मात्रा बढिरहेको छ । बुटवलमा तिनाउ खोलामा बाढीको मात्रा बढिरहेको छ ।
त्यसैगरी शुक्रबादेखि सुरु भएको वर्षाका कारण आएको बाढीले देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना र सहायक कम्पनीको कूल ५२६ मेगावाट क्षमताको उत्पादन रोकिएको हो । यसबाहेक निजी क्षेत्रका उत्पादकहरुले उत्पादन गरेको बिजुलीको उत्पादन समेत रोकिएको छ । बलेफी, मोदी, मध्य मोदी लगायतका आयोजनाको उत्पादन रोकिएको छ । यस्तै लिखु, मध्य तमोर, सोलु दुधकोसी, सोलु दुधकोसी लगायतका आयोजनाको उत्पादन समेत रोकिएको बताइएको छ । यसबाहेक देवीघाट र चमलेलिया आयोजनाको उत्पादन समेत रोकिएको प्राधिकरणले जनाएको छ ।
अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् । दुई मन्त्रालयमा एक फिटसम्म पानी जमेको छ । राप्ती गाउँपालिका ५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।
वर्षासँगै आएको पहिरोले तराईका जिल्लामा डुबान, पहिरोले अधिकांश सडक बन्द हुन पुगेका छन् । पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । यता घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।
त्यस्तै कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमिरेफाडमा पहिरो आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका ६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।
यता अविरल वर्षाका कारण उत्तरी नाका जोड़ने अरनिको राजमार्ग र पूर्वी जिल्ला जोड्ने विपि राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । वर्षाका कारण विपि राजमार्गको विभिन्न खहरे खोलाहरु रोशी गाउँपालिका –८ को नार्के, चारसयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि, वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन पाँचखाल नगरपालिकासँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पाल्पाका सबै राजमार्ग तथा सहायक मार्गहरू अबरूद्ध भएका छन् । अविरल वर्षातले सिद्धार्थ राजमार्ग, तानसेन–तम्घास सडक, तानसेन–हार्थोक–बतासे–छहरा सडक, आर्यभन्ज्याङ–मपुर सडक पूर्ण रूपमा बन्द भएका छन् । पानी निरन्तर परिरहेकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा भित्री सडक पनि पहिरोले बन्द रहेका छन् ।



