काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको भन्दै राप्रपाले विश्वासको मत नदिने भएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको बताउनुभयो । अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उहाँको तर्क छ । राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उहाँको भनाइ छ । राप्रपाले अगाडि सारेका एजेण्डामा वर्तमान सरकार लचिलो भए भविष्यमा सोच्ने विषय भएको उहाँको तर्क छ । तीन प्रतिपक्षी दलबीच भएको छलफललाई आफूले समर्थन गरेको भन्दै राष्ट्रिय मुद्दामा आफू पनि प्रतिपक्षी भएको हिसाबले उनीहरुसँग संवाद र सहकार्य गरेर अगाडि बढ्ने समेत लिङ्देनको भनाइ छ ।






