असारे महिना । कहि हिलो, कहि धुलो त कहि पानी । वर्षको ३६५ दिन नै हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधै सास्ती । रामकोट सडक र यहाँका स्थानीयको दैनिकी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्रे सडकसँगै अब सडकका छेउछाउ हरियाली थपिँदैछ ।
राष्ट्रिय वृक्षरोपण दिवसको दिन सडक किनारमा बिरुवा रोप्दै स्थानीयले कहिल्यै नसकिने धुलो, वर्षामा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको बताउँछन् ।



नीलकण्ठ नगरपालिका–८ रामकोट सडक किनारमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । गाउँ र सहरको सीमामा रहेको रामकोट सडकलाई हरियालीको घेरामा परिणत गर्ने लक्ष्यसहित ६ फिटसम्म अग्ला तीन सयवटा बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय र नीलकण्ठ नगरपालिका–८ को व्यवस्थापनमा कल्की, ज्याकरन्डा, कपूर, अशोक र असारे फूललगायत रोपिएका छन् ।



