काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा द्वीपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताउनु भयो । पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।



भारतीय विदेश सचिव मिश्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुबै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका कैयौँ योजनामध्ये कृषि, पर्यटन र ऊर्जाजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।



