राष्ट्रिय गौरवको आयोजना तराई–मधेश द्रुतमार्गअन्तर्गत सडकतर्फ नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको मुख्य खण्डमा ‘ब्रेक थ्रु’ भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सुरुङको ब्रेक थ्रु गर्नुभएको हो । तर, ७० किलोमिटरभन्दा लामो यो द्रुतमार्गको निर्माणले अझै गति लिन सकेको छैन । ९ वर्षअघि नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिइएको आयोजनाको भौतिक प्रगति बल्ल आधा पुगेको छ । जग्गा अधिग्रहण, रुख कटान र निर्माणको सुस्त गतिका कारण आयोजना सम्पन्न हुने म्यादसमेत २०८६ सालसम्म पुर्याइएको छ ।
आज राष्ट्रपति पौडेलले निजगढबाट काठमाडौं आउने दिशाको ३ दशमलव ४४५ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले निर्माण गरिरहेको यो सुरुङ सडकतर्फ नेपालकै सबैभन्दा लामो हो ।महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । अर्को दिशाको ३ दशमलव ४८६ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भने गत भदौ दोस्रो सातामै भइसकेको थियो । यो नेपालको सबैभन्दा लामो सुरुङका रूपमा रहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७० दशमलव ९७७ किलोमिटर दूरीको द्रुतमार्गमा कुल ११ दशमलव २ किलोमिटर सुरुङ निर्माण हुँदैछ । सातवटा सुरुङमध्ये धेद्रे र लेनडाँडाका सुरुङको ब्रेक थ्रु भइसकेको छ । अहिले ती सुरुङमा फिनिसिङको काम भइरहेको छ । धेद्रे सुरुङको लम्बाइ १ हजार ६ सय ९१ मिटर र लेनडाँडाको १ हजार ६ सय २३ मिटर छ । दुवै दिशाका लागि चारवटा सुरुङ निर्माण गरिएको हो । अन्य सुरुङको निर्माण भने जारी छ ।



२ हजार २ सय ३७ मिटर लामो चन्द्रामभीर सुरुङमा ७ सय ८० मिटर खनिएको छ । ५ सय २० मिटर लामो सिसौटार सुरुङमा ५३ मिटर र १ हजार ८७ मिटर लामो देवीचौर सुरुङमा १ सय २३ मिटर खनिएको छ । ५ सय ८३ मिटर लामो मौरीभीर सुरुङको पोर्टल निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । तर सुरुङ निर्माणमा उपलब्धि हासिल हुँदै गर्दा समग्र आयोजनाको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । २०७४ साल साउन २७ गते नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिइएको यो आयोजना सुरुमा २०८१ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा काम नसकिएपछि २०८३ साल चैतसम्म म्याद थपियो । पछिल्लो पटक २०८६ साल चैत सम्म पुर्याइएको छ । आयोजना निर्माणमा खोकना–डुकुछाप खण्डको जग्गा अधिग्रहण प्रमुख चुनौती बनेको छ । आयोजनाका अनुसार डीपीआरअनुसार मूल्य निर्धारण भइसके पनि अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी र गुठीको १४ रोपनी छ । त्यस्तै, १ सय ६५ रोपनी जग्गाको मूल्य निर्धारणसमेत हुन बाँकी छ । स्मार्ट सिटी, बाहिरी चक्रपथ र द्रुतमार्गजस्ता आयोजना एकै क्षेत्रमा निर्माण गर्दा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनबारे पनि निर्णय हुन बाँकी छ ।
आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का लागेर काम भइरहेको छ । खोकना खण्डका चार पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । पाँचवटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन् । समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । गत भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ ।महादेवटार सुरुङको ब्रेक थ्रुले द्रुतमार्ग निर्माणमा एउटा महत्वपूर्ण चरण पूरा भएको छ । तर, बाँकी सुरुङ, पुल, सडक र जग्गा अधिग्रहणको काम समयमै सम्पन्न गर्न नसकिए आयोजना फेरि पनि निर्धारित समयमै पूरा हुनेमा चुनौती कायमै रहने देखिन्छ ।



