राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता भएको १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको हो । गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदका लागि ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ ।



सरकारले विनियोजन गरेको ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ । यसबाट वचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जनाएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्र कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको बताए ।
गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिष्पर्धा गरेका थिए । त्यसमध्ये ३४१४ पुरुष र २७१३ महिला गरी कुल ६ हजार एक सय २७ खेलाडीले तीन ९७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पार्ने जनाएको छ । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।



