काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री दाहालले सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट पारेका हुन् ।’हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो। भेटमा मैले नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे नै कुरा गरेको छु । विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ । नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ,’ प्रधानमन्त्री दाहालले भने । २० करोड रुपैयाँसम्मको परियोजनामा भारत एक्लैले निर्णय नगर्ने पनि प्रधानमन्त्री दाहालले बताए । ’२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन । यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ,’ प्रधानमन्त्री दाहालले भने, ’मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता भएको छ। अरू कुनै भ्रम राख्न जरूरी छैन । सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ।’ भारतीय विदेशमन्त्रीले चिनियाँ प्रतिनिधिको नेपाल भ्रमणबारे चासो राखेका रहेछन् नि भन्ने सांसदहरूको प्रश्नलाई जवाफ दिँदै प्रधानमन्त्रीले भने, ’त्यसबारे उहाँले “वान टु वान” र संयुक्त भेटमा पनि एक शब्द उच्चारण गर्नुभएन। त्यो बाहिर आएको भ्रम र प्रचार मात्र हो, त्यसमा कुनै सत्यता छैन।’

 

छलफलमा प्रधानमन्त्रीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताउँदै संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्याहरू निवारण गर्न संशोधन विधेयक ल्याइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय