पोखरा — लगातारको वर्षाका कारण गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायतका जिल्लामा क्षति पुगेको छ। प्रदेश राजधानी पोखरा पनि वर्षाबाट प्रभावित बनेको थियो। यद्यपि, अहिले वर्षा रोकिएर पोखराको आकाश खुलेको छ।आकाश खुलेसँगै पोखराबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला स्पष्ट देखिन थालेका छन्। घाम लाग्न थालेपछि पोखराको मौसममा सुधार आएको छ।
कास्कीमा केही दिनदेखि लगातार वर्षा भइरहेको थियो। वर्षाका कारण ठूलो क्षति नभए पनि ग्रामीण क्षेत्रको यातायात तथा हिमाली क्षेत्रमा हुने पदयात्रा प्रभावित भएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पदयात्रामा गएका पर्यटकलाई समेत सुरक्षित स्थानमा सारिएको थियो।



लगातारको वर्षाका कारण पोखराको सेती नदीमा पानीको बहाव बढेको थियो। नदी आसपासका रामघाटलगायत क्षेत्रमा पानी जमेको थियो। वर्षा रोकिएसँगै अहिले भने अवस्था सामान्य बन्दै गएको छ। बिहानसम्म वर्षा भए पनि अहिले आकाश खुलेर घाम लाग्न थालेको हो। मौसम विभागले कास्कीमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको थियो। अहिले मौसम खुलेसँगै हिमालको मनमोहक दृश्य देखिन थालेपछि पोखराको प्राकृतिक सौन्दर्य झनै आकर्षक देखिएको छ।



