लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा पहिरोले सडक बगाउँदा हिमाली जिल्ला मनाङ जाने–आउने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। मङ्गलबार राति करिब १ बजे माथिल्लो जंगलबाट आएको पहिरोले करिब ३ सय मिटर माथिबाट सडक बगाएको स्थानीयले बताएका छन्।
सदरमुकाम बेँसीसहरबाट करिब २३ किलोमिटर उत्तरमा रहेको श्रीचौरमा वर्षायाममा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।



जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। उनले खरखरे क्षेत्रमा पनि लगातार पहिरो गइरहेकाले सडक खुलाउन चुनौती थपिएको बताए। प्रहरीका अनुसार सडकबाट पहिरो हटाउन करिब ४ देखि ५ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। सडक अवरुद्ध भएपछि मनाङ जाने तथा त्यहाँबाट फर्कने यात्रु र सवारीसाधन बीच बाटोमै रोकिएका छन्।



