काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।
ईपीएसमार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।



पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा. २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।
प्रदर्शनका क्रममा दैलेख महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।



