नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वप्रधानमन्त्री माधव नेपालसँग बयान लिएको छ । ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपालसँग बयान लिइएको हो । प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपालले सीआईबी पुगेर बयान दिएको बताइएको छ । युरोप भ्रमणमा रहेका नेपाल सोमबार बिहानमात्रै स्वदेश फर्किएका थिए ।
नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धमा मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भएका थिए । तिनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । तिनै मन्त्रिपरिषद्का निर्णयमा आधारित भई सीआईबीले उनीसँग बयान लिएको हो ।



सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेपछि यो प्रकरणको छानबिन गरिरहेको सीआईबीलाई नेपाल र अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग बयान लिन सहज भएको हो । यो प्रकरणमा जोडिएका अर्का पूर्वप्रम बाबुराम भट्टराईले आफू सीआईबीलाई बयान दिन तयार रहेको बताउदै आएका छन । अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने यो काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नताको बारेमा छानबिन भइरहेको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



