दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ११ मत परेको छ । लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् ।



एमाले–कांग्रेस गठबन्धनपछि गएको साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेशसभा सदस्यले मत दिनुभएको थियो ।
मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ गरी ११ जना सांसदले विपक्षमा मतदान गरेका थिए । माओवादीबाट सभामुख तुलाराम घर्ती मगर छन् ।



