जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्याका आरोपी दुई जनालाई जेल चलान गरिएको छ ।
जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।



गत भदौ ९ गते विहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास–औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा भेटिएको थियो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानविनको क्रममा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो ।



