काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकट पु¥याएको दाबी गर्नुभएको छ । सम्पती शुद्धिकरण सम्बन्धी कार्यक्रममा गभर्नर पौडेलले विश्वव्यापी वार्षिक ३ दशमलव ६ बिलियन डलर बराबरको राजश्व नोक्सानी गराउने वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताउनुभयो । वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह रहेको उहाँको भनाइ छ ।



गभर्नर पौडेलले सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको बताउनुभयो । यसका लागि प्रतिक्रियात्मक भन्दा पनि निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै क्षेत्रका नियामक निकायले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।




